विधान
संस्थाको नामः ग्याल्सुम्दो सेवा संस्था ईंक., यू.एस.ए.

लोगोः नीलो आकाश, पहेंलो अङ्कित सूर्य, अन्नपूर्ण र मनसुलु हिमाल, मर्स्याङ्दी तथा दुधखोला, नेपाल र अमेरिकी राष्ट्रिय झण्डा र शान्तिको प्रतीक परेवा

संस्थाको कार्यालयः न्यूयोर्क, अमेरिका

उद्देश्य
अमेरिकाका विभिन्न क्षेत्रमा छरिएर रहेका ग्याल्सुम्दो बासीहरूलाई संस्थागत रुपमा एकै छानामुनि एकीकृत गराई आपसी सहयोग, सद् भाव र एकता बढाउने
– मौलिक परम्परा भाषा र संस्कृतिलाई संरक्षण र सम्बर्धन गर्ने
– समुदायभित्र आर्थिक, सामाजिक र अन्य विविध क्षेत्रमा समुचित विकासका लागि सहयोग प्रदान गर्ने
– शिक्षा र स्वास्थ्य क्षेत्रमा आवश्यक योगदान प्रदान गर्ने
– अमेरिका स्थित विभिन्न संघसंस्थासँग सुमधुर सम्बन्ध र समन्वय कायम राख्ने र ग्याल्सुम्दो सेवा संस्था, नेपालसँग अटुट सम्बन्ध र आपसी सहयोग आदानप्रदान कायम राख्ने

सदस्यता
(क) साधारण सदस्यता
– १८ वर्ष पुगेको
– विधिवत रुपमा सदस्यता प्राप्त अमेरिकास्थित ग्याल्सुम्दोवासी
– ग्याल्सुम्दोवासीसँग वैवाहिक सम्बन्ध भएको व्यक्ति
– संस्थासँग निकटतम सम्बन्ध वा आस्था राख्ने व्यक्तिल पेस गरेको सदस्यताको लागि लिखित निवेदन उपर समितिले सदर गरेमा वा आवश्यक ठानेमा साधारण सभामा पेस भई बहुमतले सदर गरेमा
साधारण सदस्यता शुल्क
वर्षिक शुल्क पचास अमेरिकी डलर
(ख) आजीवन सदस्यता
पाँचसय अमेरिकी डलर शुल्क सहित (क) मा उल्लेखित योग्यता भएको व्यक्ति

सदस्यताको समाप्ती
– लिखित राजीनामा स्वीकृत भएमा
– तोकिएको समयभित्र सदस्यता शुल्क नतिरेमा
– देहान्त भएमा
साधारण सभा तथा कार्यसमिति
– विधिवत रूपमा सदस्यता प्राप्त सदस्यहरूको सभा — साधारण सभा जनाउँछ ।
– साधारण सभाको अधिवेशन — वर्षमा एक पटक हुनेछ — जसलाई वार्षिक साधारण सभा भनिनेछ ।
वार्षिक साधारण सभाले कार्यसमितिले वर्षभरिमा भए गरेका आर्थिक तथा जिन्सी विवरण उपर छानवीन, प्रतिवेदनको माग तथा आवश्यक राय सुझाव तथा विधान संशोधन सम्बन्धी आवश्यक परामर्श पेश गर्ने अधिकार प्राप्त छ । कार्यसमितिको अध्यक्षको अध्यक्षतामा वर्षको एक पटक साधारण सभाको अधिवेशन हुनेछ ।

कार्यसमिति गठन
अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष र अन्य चार सदस्यहरू गरी जम्मा नौ (९) जनाको कार्यसमिति गठन हुनेछ ।

कार्यसमितिको चयन
अमेरिका स्थित ग्याल्सुम्दोवासी सदस्यहरूले आफ्नो क्षेत्रको गा.वि.स. (धारापानी, थोंचे, ताचे— वगरछाप र चामे) बाट दुई (२) जना प्रतिनिधि छनोट गरेर पठाउनेछ । चार गा.वि.स.बाट दुई जवानको दरले जम्मा — आठ (८) प्रतिनिधि

चयन भएका आठ जना प्रतिनिधि सबै जना पुरुष भएको हकमा साधारण सदस्यहरूमध्येबाट एक (१) जना महिला प्रतिनिधि बहुमतले पारित गरी चयन गरिनेछ । आठ जनाको प्रतिनिधिमध्ये महिला प्रतिनिधि भएको हकमा आठ जनाको प्रतिनिधिको बहुमतद्वारा (१) एक जना थप प्रतिनिधि महिला वा पुरुष साधारण सदस्यहरूमध्येबाट चयन गर्नेछ ।

थप एक जना प्रतिनिधि चयन गर्दा गा.वि.स. क्षेत्रबाट अधिकतम सदस्य संख्या भएको गा.वि.स क्षेत्रलाई र त्यस क्षेत्रको गाउँको प्रतिनिधी नभएकोलाई प्राथमिकता दिइनेछ । प्रतिष्ठित, समाजसेवी, विद्वान र बहुप्रतिभाशाली व्यक्तिलाई विशेष प्राथमिकता दिइनुपर्ने व्यवस्था छ ।

चयन भएका नौ (९) जना प्रतिनिधीहरूमध्येबाट निजहरूले नै बहुमतबाट अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सदस्यहरूको पद विभाजन गर्नेछ ।

कार्य समिति पदावधि
— दुई (२) वर्षको हुनेछ ।

उपसमिति
समयानुकुल आवश्यकतानुसार समितिले कार्य समितिको सदस्यको नेतृत्वमा खेलकुद, सांस्कृतिक कार्यक्रम, सूचना तथा संचार, महिला विकास, स्वास्थ्य, राहत तथा सहयोग आदि क्षेत्रमा निश्चित समय र उद्देश्य प्राप्तिका लागि उपसमिति गठन गर्ने सक्नेछ ।

सल्लाहकार समिति
भू.पू. अध्यक्ष, समाजसेवी, विद्वान, उद्यमी जस्ता प्रतिष्ठित व्यक्तिहरू समावेश हुन सक्नेछ । कार्य समितिको नियमित वैठकमा सहभागी भएर आवश्यक सुझाउ सल्लाह पेश गर्न सक्नेछन् तर निर्णायक भोटिङ (मत) गर्ने अधिकार भने हुने छैन।

कार्य समिति सदस्य पद रिक्तता—
(१) दुई वर्ष कार्यवधि समाप्त भएमा
(२) कार्य समितिलाई सम्बोधन गरी दिएको राजीनामा स्वीकृत भएमा
(३) संस्थाको सदस्य नरहेमा
(४) साधारण सभाको दुई तिहाई बहुमतद्वारा अविश्वासको प्रस्ताव पारित भएमा
(५) मनासिव कारणविना लगातार तीन (३) पटक पूर्व सूचना बिना कार्य समितिको वैठकमा अनुपस्थित रहेमा

कार्य समितिको काम, कर्तव्य र अधिकार
(१) संस्थाको उद्देश्य अनुरुप संचालित कार्यक्रमहरु सुनियोजित ढंगले संम्पन्न पार्न नेतृत्व र जिम्मेवारी लिने।
(२) साधारण सभाद्वारा पेश भएका निर्णयहरु कार्यान्वयन गर्ने, गराउने।
(३) कार्य समितिको कुनै पदाधिकारीको पद वीचमा रिक्त भएमा साधारण सभाको सदस्यहरु मध्येबाट रिक्त गा.वि.स. क्षेत्रबाट सोही क्षेत्रले चयन गर्न लगाउने ।

अध्यक्षको काम, कर्तव्य र अधिकार
– संस्थाको हित र प्रगतिको उद्देश्य प्राप्तिको लागि संस्थाको नेतृत्व गर्ने, नियमित कार्य समितिको बैठकको अध्यक्षता ग्रहण गर्ने ।
– साधारण सभाको सभापत्वि गर्ने, सभा वा समितिको बैठकमा मत बरावर भएमा निर्णायक मत हुने अधिकार रहनेछ ।

उपाध्यक्षको काम, कर्तव्य र अधिकार
अध्यक्षको अनुपस्थितिमा उपाध्यक्षले नियमानुसार अध्यक्षको काम कार्वाही चलाउन सक्नेछ । अध्यक्षको उपस्थितिमा अध्यक्षको कार्य सम्पादनमा विशेष सहयोग गर्ने उपाध्यक्षको कर्तव्य हुनेछ ।

महासचिवको काम, कर्तव्य र अधिकार
(१) कार्यसमितिको निर्णय बमोजिम साधारण सभाको बैठक बोलाउने।
(२) अध्यक्षले निर्देशन गरे बमोजिम वा आवश्यकतानुसार कार्यसमितिको बैठक बोलाउने।
(३) संस्थाको विधान, निर्णय, निति अनुसार आवश्यक लेखापढी कार्यक्रम संचालकको कर्तव्य निर्वाह गर्ने।
सचिवको काम, कर्तव्य र अधिकार
महासचिवको अनुपस्थितिमा निजले गर्ने सम्पूर्ण कार्य गर्ने।

कोषाध्यक्षको काम, कर्तव्य र अधिकार
– संस्थाको कोष संचालन ः कोष संकलन, आय व्ययको हिसाव दुरुस्त राख्ने वा राख्न लगाउने, कार्य समितिको सदस्यले वा अन्य अख्तियारवालाले हेर्न चाहेमा सो देखाउने।
– संस्थाको वार्षिक लेखा परिक्षण गर्ने गराउने।
– साधारण सभाको वार्षिक सम्मेलनमा वार्षिक आय व्यय र जिन्सीको लागत पेश गर्ने।
संस्थाको कोष
– संस्थाको कोषको रकम स्थानीय बैंकमा खाता खोली जम्मा गरिनेछ।
– खाता संचालन अध्यक्ष र कोषाध्यक्षको सामुहिक हस्ताक्षरबाट वा अध्यक्ष र कार्यसमितिको निर्णयले तोकेको समिति भित्रको कुनै एक व्यक्ति गरी दुई जनाको हस्ताक्षरबाट हुनेछ।
– अध्यक्षले मनासिव ठहरेको आकस्मिक विशेष अवस्थामा बोहक कार्यसमितिको निर्णय बमोजिम मात्र आर्थिक कारोवार संचालन हुनेछ।

सहयोग तथा राहत व्यवस्था

आजीवन वा साधारण सदस्य कालगतिले वा आकस्मिक कारण अमेरिकामा निधन भएमा प्रत्येक सदस्यहरुबाट एक सय अमेरिकी डलर र मृतक व्यक्ति विधिवत सदस्यका नावालक (१८ वर्ष भन्दा मुनि) भएको हकमा पचास अमेरिकी डलर का दरले कार्यसमितिले यथाशिघ्र संकलन गरी पीडित परिवारलाई राहत उपलब्ध गराउनेछ ।